अनिता भेटवाल (शनिबार, १८ मंसिर, २०७८ | 4 December 2021)
चोरी भएको ३८ वर्षपछि अमेरिकाबाट फिर्ता ल्याएको लक्ष्मी-नारायणको मूर्ति प्रतिस्थापन गर्दै पाटनको पट्को टोलका बासिन्दाले खुशियाली मनाएका छन्।
शनिबार बिहान ४ नबज्दै ललितपुरको पाटनस्थित पट्को टोलकी ७० वर्षीया चन्द्राप्रथा शाक्यका आँखा खुले। जुरुक्क उठेर झ्यालबाट तन्किँदै घरैछेउको लक्ष्मी-नारायणको मन्दिरमा आँखा लगाइन्। “भगवान्लाई राखेको देख्न पाउँदिनँ कि भनेर बिहानै बिउँझिएछु,” शाक्यले भनिन्।
अघिल्लो दिन नै पाटनको पट्को टोल सुधार समितिका सदस्यहरूले टोलभरि खबर सुनाएका थिए, ‘भोलि चोरी भएका लक्ष्मी-नारायण भगवान्लाई यथास्थानमा राखिनेछ।’ त्यो भोलिको पर्खाइमा उनी उज्यालो नहुँदै बिउँझिएकी हुन्।
लक्ष्मी-नारायणसँग साढे पाँच दशकदेखिको लगाव थियो। भारतको सिक्किमबाट विवाह भएर आएदेखि उनले घरछेउमै पुज्ने देउता हुन् लक्ष्मी-नारायण। जुन पछिल्लो ३८ वर्षदेखि गायब थिए। त्यहाँ लक्ष्मी-नारायणको मूर्तिको प्रतिमा बनाएर पूजाआज गरिंदै आएको थियो।
त्यसैले, शाक्य १८ मंसीर बिहानैदेखि प्रसन्न थिइन्। “भगवान् त देश-विदेश घुमेर आउनुभयो। हामीलाई हराएको मणि भेटे जस्तै भयो,” शाक्यले थपिन्, “मन्दिर आउँदा हराएका देउता कहाँ होलान्? छैनन् कि भन्ने गर्थ्यौं। भगवान् आएपछि शान्ति, उन्नति मिल्ला।”
शाक्यलाई जस्तै उनकी नन्द कृष्णुदेवी शाक्यलाई पनि भगवान् चोरी भएकोमा निकै दुःख लागेको थियो। लक्ष्मी-नारायण फर्केकोमा खुशियालीमा उनले भनिन्, “अब नयाँ-पुराना दुवै भगवान्का मूर्ति भए। हाम्रो टोल त झनै शक्तिशाली भयो। देउताले रक्षा गर्लान्।”
पट्को टोलका ७९ वर्षीय भाइराजा श्रेष्ठको उत्साह बेग्लै थियो। ७० किलोको लक्ष्मी-नारायणको मूर्तिलाई एक्लै घर भित्र्याउन सकुँला जस्तै गरी जोशिएका थिए, उनी। “एउटा हराएको कलम भेटिंदा मान्छे खुशी हुन्छ, यहाँ त भगवान् नै भेटिनुभयो। संसार डुलेर आफ्नै वासस्थानमा आउँदा हामी कसरी चूप बस्ने!” श्रेष्ठले भने।
हुन पनि उनी बिहानैदेखि मन्दिर सजाउन थालेका थिए। उनलाई स्थानीय युवाले सघाइरहेका थिए।
पट्को टोलको पुरानै स्थानमा प्रतिस्थापन गर्न लक्ष्मी-नारायणको मूर्ति फूलमालाले सजाइएको थियो। चिटिक्क परेर मूर्ति प्रतिस्थापन हुने स्थानमा आएकी ७६ वर्षीया हरिमाया महर्जनले भनिन्, “अमेरिका पुगेर आउँदा भगवान् कस्ता भएछन् भनेर हेर्न आएँ।”
यसै कारण शनिबार बिहान पट्को टोल नै खुशी थियो। उत्सव मनाउन लागे झैं मूर्ति प्रतिस्थापन गर्न स्थानीय जुटेका थिए। मूर्ति प्रतिस्थापन गरेपछि टोल सुधार समितिका अध्यक्ष वदनशर्मा राजोपाध्यायले समुदायको आस्थालाई थप मजबूत बनाएको बताए। मूर्ति फिर्ता भएपछि स्थानीयले दीप प्रज्ज्वलन गरेको उनले सुनाए।
लक्ष्मी-नारायणको मूर्ति प्रतिस्थापन गर्दा स्थानीय बासिन्दा बाजागाजा सहित सहभागी भएका थिए। चोरिएका मूर्ति स्वदेश फिर्ता ल्याए पनि प्रतिस्थापन गर्न नसकिएको अवस्थामा आजको दिन ऐतिहासिक बनेको राष्ट्रिय सम्पदा पुन:स्थापना अभियानका प्रवक्ता रोशन मिश्र बताउँछन्।
“फिर्ता भएका मूर्ति धेरै वटा छाउनी सङ्ग्रहालयमा छन्, तर सबैलाई प्रतिस्थापन गर्न सकिएको छैन। यो त समुदायको स्वीकारोक्तिकै कारण हो,” मिश्र भन्छन्। उनका अनुसार, पट्को टोल सुधार समिति, ललितपुर नगरपालिका, सामाजिक अभियन्ता सबैको सहयोगमा यो कार्य सम्भव भएको हाे।
इन्फ्रारेड जडान
मूर्तिलाई पुरानै अवस्था र स्वरूपमा स्थापित गरिएकाे छ। लक्ष्मी-नारायणको सुरक्षाका लागि मूर्ति राखिएकाे स्थानमा इन्फ्रारेड जडान गरिएको छ। ढाेकामा अलार्म पनि जाेडिएकाे छ।
मन्दिर वरपर पाँच वटा सीसी क्यामेरा जडान गरिएका छन्। दिनमा भक्तजन दर्शनका लागि आउने भएकाले राति मात्रै ‘साइरन अन’ गरिने समितिका अध्यक्ष राजोपाध्याय बताउँछन्।
थप सुरक्षाका लागि मूर्तिमा नदेखिने गरी स्टील जोडिंदै छ। अझै सुरक्षाको व्यवस्था थपिने काठमाडौं उपत्यका संरक्षण कोषका निर्देशक रोहित रञ्जितकार बताउँछन्। “यो मूर्ति त अब विश्वभरि नेपालको भन्ने प्रमाणित भइसकेकाले जोखिममा छैन, तर नेपालमा अन्य धेरै मन्दिरका मूर्ति बचाउन सेन्सर राख्न आवश्यक देखिन्छ,” रञ्जितकार भन्छन्।
फेरियो मन्दिरको संरचना
एक हजार वर्षअघि पट्को टोलमा राखिएको लक्ष्मी-नारायणको मूर्ति सन् १९८४ मा चोरी भयो। त्यतिवेला उपत्यकामा मूर्ति चोरीको शृङ्खला नै चलेको थियो। धेरै मूर्ति विदेशिएका समाचार आए पनि संरक्षणमा ध्यान पुग्न सकेको थिएन। “बाजेको पालामा अहिलेको जति बलियो मन्दिर पनि कहाँ थियो। त्यसैले मूर्ति उठाउन सजिलो भयो,” समितिका अध्यक्ष राजोपाध्याय भन्छन्।
पुरानो मन्दिरमा भएको फलामको ढोकामा खिया लागेको थियो। अहिले काठको बलियो ढोका बनाइएको छ। पहिले मन्दिरभित्र मूर्तिलाई डन्डीमा बाँधेर राखिएको थियो भने अहिले मूर्तिको तल्लो भाग एक फिट गाडिएको छ। अब चाँडै मन्दिरको भित्री भागमा लेजर प्रविधि राखिने उनले बताए।
प्रविधिको प्रयोगले केही सुरक्षा दिए पनि सबैभन्दा बलियो सुरक्षाकवच स्थानीयको संरक्षणचेत रहेको सम्पदा संरक्षणविद् रवीन्द्र पुरी बताउँछन्। “भगवान्को मूर्ति मृत अवस्थाबाट जीवित अवस्थामा आएको छ। यस टोल, नगरपालिका र अभियन्ताको पहलले चारै दिशा घुमेर भगवान् थलो फर्किएका छन्,” पुरी भन्छन्, “अब यसको संरक्षणमा स्थानीयले ध्यान दिनुपर्छ।”
अनि गरियो क्षमापूजा
जनविश्वास हुन्छ, भगवान् रिसाए भने अनिष्ट हुन्छ। त्यसैलाई ध्यानमा राखेर लक्ष्मी-नारायणको मूर्ति प्रतिस्थापन गर्दा पनि क्षमापूजा गरिएको छ। भगवान्को मूर्तिले ३८ वर्षसम्म विभिन्न स्थलमा पुग्दा पाएको दुःख सम्झेर माफी माग्न क्षमापूजा गरिएको पुजारी ज्वालानन्द राजोपाध्याय बताउँछन्। “भगवान्को मूर्तिलाई सुरक्षा दिन नसकेको र जान-अन्जानमा भएका गल्तीमा माफी माग्न क्षमापूजा अनिवार्य हुन्छ,” उनी भन्छन्।
क्षमापूजापछि भगवान्को आत्मा पनि मन्दिरमा प्रवेश गर्ने धार्मिक विश्वास रहेको मन्दिरका गुठियार विमललाल श्रेष्ठ सुनाउँछन्। “कैयौं वर्षअघि पितापुर्खाले मन्दिर बनाए, भगवान्को भूर्मि राखे, तर चोरी भएपछि के-कस्तो ठाउँमा पुग्नुभयो होला,” श्रेष्ठ भन्छन्, “अब यो पापबाट हामी पनि मुक्त भयौं कि? जय लक्ष्मी-नारायण!”